काठमाडौं - गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण, कानुन कार्यान्वयन र विपद् व्यवस्थापनमा तीनै तहका सरकार समन्वयात्मक ढङ्गबाट अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

बाग्मती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज आयोजित ‘शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन सम्बन्धी अन्तरप्रदेशस्तरीय कार्यशाला गोष्ठी’मा  उहाँले संविधानले दिएको जिम्मेवारी र दायित्व कार्यान्वयन गर्न मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री लेखकले संविधानतः सहकारिता, समन्वय र सहअस्तित्वमा आधारित सङ्घीयता मुलुकले अङ्गीकार गरेको उल्लेख गर्दै तीनै तहको समन्वयमा प्रशासनिक कार्य अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।

मुलुकको शान्ति सुरक्षाको अवस्थामा खासै ठूलो चुनौती नभए पनि अपराधका नयाँ आयामले चिन्ता थपेको बताउनुभयो । “परम्परागत अपराध नियन्त्रणका लागि त निरन्तर काम गर्नु परिरहेको छ, तर अहिले लागुऔषध, आत्महत्या, सडक दुर्घटना र साइबर अपराध चुनौतीपूर्ण ढङ्गले देखापरेका छन्, यसलाई न्यूनीकरण गर्न तीनै तहका सरकारले मिलेर काम गर्नुपर्छ ।”

घृणाष्पद अभिव्यक्तिमार्फत समाजलाई गलत ढङ्गबाट प्रभावित गर्ने शृङ्खला बढिरहेको उल्लेख गर्दै उहाँले यसखालका अपराध नियन्त्रणमा कुनै सम्झौता नगरी निर्मम ढङ्गले प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

जनताका प्रतिनिधिद्वारा निर्मित संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण आजको मुख्य कार्यभार भएको जनाउँदै उहाँले संविधानलाई असफल बनाउने छुट कसैलाई पनि नभएको बताउनुभयो ।