काठमाडौं — नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई चेतावनी दिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले निरङ्कुश र अमानवीय व्यवहार देखाएको आरोप लगाउॅदै तत्काल उक्त व्यवहार रोक्नका लागि चेतावनी दिएका हुन् ।

पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका रविमाथि सरकारले गरेको अलोकतान्त्रिक, निरङ्कुश तथा प्रतिशोधपूर्ण व्यवहार तत्काल रोक्न उनले सरकारलाई भनेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा प्रचण्डले लेखेका छन् - अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछाने माथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।

सहकारी ठगी गरेको आरोपमा लामिछानेलाई कातिक २ गते पक्राउ गरी कास्की प्रहरी हिरासतमा राखिएको छ । अस्वस्थ हुँदाहुँदै राति नै प्रहरीले चितवनबाट उठाएर पोखरा लगिएकोमा लामिछानेले आपत्ति जनाएका छन् । प्रहरीले रविलाई गरेको दुव्र्यहारप्रति सवत्र निन्दा अहिले भइरहेको छ ।