काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
 
आजको बैठकमा स्थानीय तह उपनिर्वाचनको प्रारम्भिक समीक्षा गरिएको थियो । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

अब आगामी निर्वाचनमा आफ्नै एजेण्डा र पहिचान सहित एक्लै निर्वाचन लड्ने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष भएको उहाँले बताउनुभयो ।
 
यसअघि पार्टीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रुपमा लिएको छ ।