काठमाडौं - चालु आर्थिक वर्षको तीन महिनामा देशको व्यापार घाटा चार प्रतिशतले कमी आएको छ ।  

नेपाल राष्ट्र बैङ्कका अनुसार कुल वस्तु निर्यातमा छ दशमलव एक प्रतिशतले कमी आई ३८ अर्ब ३८ करोड कायम भएको छ । यस्तै, वस्तु आयातमा चार दशमलव दुई प्रतिशतले कमी आई रु तीन खर्ब ९० अर्ब ७५ करोड कायम भएको छ ।

गत वर्षको तुलनामा व्यापार घाटामा चार प्रतिशतले गिरावट आई रु तीन खर्ब ५२ अर्ब ३७ करोड रहन गएको छ । यस्तै, विप्रेषण आप्रवाह ११ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु चार खर्ब सात अर्ब ३१ करोड रहन गएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५ दशमलव पाँच प्रतिशतले वृद्धि भई रु तीन खर्ब ६५ अर्ब ३७ करोड पुगेको थियो ।

चालु आवको पहिलो त्रयमासमा चालु खाता रु एक खर्ब ११ अर्ब ८७ करोड र शोधनान्तर स्थिति रु एक खर्ब ८४ अर्ब ९९ करोडले बचतमा  छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चालु खाता रु ५९ अर्ब ६५ करोड र शोधनान्तर स्थिति रु एक खर्ब एक अर्ब ६६ करोडले बचतमा रहेको थियो ।

औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव २६ प्रतिशत रहेको छ । गत असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ८२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा मुद्रास्फीति सात दशमलव ५० प्रतिशत रहेको थियो ।

तरकारी तथा दलहन उप- समूहको उच्च मूल्य वृद्धिका कारण २०८१ असोजमा वार्षिक बिन्दुगत आधारमा खाद्यान्न समूहको मुद्रास्फीति सात दशमलव १८ प्रतिशत रहेको छ भने गैर- खाद्य तथा सेवा समूहको मुद्रास्फीति तीन दशमलव ५० प्रतिशत रहेको छ । 
    
अघिल्लो वर्षको सोही महिनामा यी समूहको मुद्रास्फीति क्रमशः आठ दशमलव ४८ प्रतिशत र छ दशमलव ८५ प्रतिशत रहेको थियो ।