काठमाडौं - नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक तथा देशकै अग्रणी आइसिटी कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडमा फिनल्याण्डको सरकारी फण्डिङ्ग कम्पनी फिनफण्डले एक करोड युरो लगानी गरेको छ ।

फिनफण्डको लगानी विद्यमान फाइबर नेटवर्क विस्तार गर्न प्रयोग गरिने वर्ल्डलिङ्क कम्युनिकेसन्सले जनाएको छ । नेपालमा झन्डै आधा जनसङ्ख्या अझै पनि ब्रोडब्यान्ड इन्टरनेटको पहुँचबाट वञ्चित हुनुका साथै सहरी र ग्रामीण क्षेत्रमा उल्लेखनीय असमानता हटाउँदै विश्वस्तरीय डाटा सेन्टरले नेपालको कनेक्टिभिटीमा सुधार र आर्थिक वृद्धिलाई टेवा पुर्याउने वर्ल्डलिङ्कले जनाएको हो ।

आज काठमाडौंमा आयोजित कार्यक्रममा फिनल्याण्डका वैदेशिक व्यापार तथा विकास मन्त्री भीले ट्याभियोको उपस्थितिमा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवाल र फिनफण्डको तर्फबाट वरिष्ठ लगानी प्रबन्धक कुट्टी किल्पेलेइनले लगानी सम्बन्धित सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

फिनिश प्रविधि तथा उपकरण निर्माता नोकिया र वर्ल्डलिङ्कको सहकार्यले वल्र्डलिङ्कका ग्राहकलाई समग्र इन्टरनेट अनुभवलाई भरपर्दो, तीव्रगतिको र थप विश्वसनीय बनाउने लक्ष्य राखेको छ ।

डाटा सेन्टर क्षेत्रमा वर्ल्डलिङ्कको विस्तारले वर्ल्डलिङ्कका ग्राहकलाई मात्र नभई अन्य इन्टरनेट सेवा प्रदायक, टेलिकम र सार्वजनिक तथा निजी क्षेत्रका संस्थालाई पनि फाइदा पुग्ने विश्वास लिइएको छ ।