काठमाडौं - काठमाडौं उपत्यकामा आज सवारी आवागमन अस्तव्यस्त बनेको छ ।
नेकपा एमालेले काठमाडौंको दरबारमार्गमा जागरण सभाको नाम दिदै शक्ति प्रदर्शन गर्न लागेकोले आज काठमाडौं उपत्यकाको ट्राफिक अस्तव्यस्त भएको हो ।
सभाअघि एमालेले र्याली निकालेकोले उपत्यकाका केही भागमा सवारी आवागमनमा समस्या भएको हो । सभास्थल दरबारमार्गमा पनि सवारी आवागमन बन्द गरिएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले वैकल्पिक सवारी रुट पनि सार्वजनिक गरेको छ ।
दरबारमार्गतर्फ आउने सवारी साधनलाई केशरमहल, महेन्द्र शालिक र जयनेपाल चोकबाट ड्राइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यसैबीच प्रदर्शन स्थल दरबारमार्ग र प्रदर्शनकारी हिँड्ने रुटमा सुरक्षाका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रदर्शन तथा सभाका क्रममा हुनसक्ने अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्नका लागि ४ हजार भन्दा बढी प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
जागरणसभाका लागि भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ ।
एमालेको जागरणसभाका लागि काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।
एमाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदैछ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
0 comment