काठमाडौं - राष्ट्रिय मानव अधिकार आयोगले प्रतिनिधिसभाका पूर्वसभामुख दमननाथ ढुङ्गानाले देश र नागरिक अधिकारको रक्षाका लागि पुऱ्याएको योगदान इतिहासमा स्वर्ण अक्षरमा लेखिने जनाएको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेले आज प्रेस विज्ञप्ति जारी गर्दै पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख व्यक्त गर्दै उहाँले पुऱ्याएको योगदानको उच्च मूल्याङ्कन गर्ने उल्लेख गर्नुभएको छ ।

ढुङ्गानाको निधनले नेपालको लोकतान्त्रिक आन्दोलन, कानुन र मानव अधिकारको क्षेत्रमा अपूरणीय क्षति पुग्नुका साथै देशले एक अमूल्य निधि गुमाएको विज्ञप्तिमा भनिएको छ ।

नेपालको संविधान, २०४७ को निर्माण, संसद्को गरिमा रक्षा, कानुन कार्यान्वयन, शान्ति प्रक्रिया तथा मानव अधिकारको संरक्षण र संवर्द्धनका लागि उहाँले पुर्याएको योगदानको आयोगले सँधै कदर गरिरहने उल्लेख छ ।

मानव अधिकारको संरक्षण, सम्वर्द्धन र शान्ति प्रक्रियाका सवालमा ढुङ्गानाले आयोगसँग जोडिएर गरेको कार्यको स्मरण गर्दै स्वर्गीय ढुङ्गानाको आत्माको चीर शान्तिको कामना गरिएको छ । 

आयोगले शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरेको छ ।