काठमाडौं - कर्णालीमा अझैपनि आयोडिनयुक्त नुन पुर्‍याउनै कठिन छ । 

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले कर्णालीका सबै डिपोहरूमा नुन ढुवानी गरिरहेको छ । सरकारले ढुवानी भाडामा अनुदान दिई साल्ट ट्रेडिङले कर्णालीका जिल्लामा आयोडिनयुक्त नुन सहुलियतमा बिक्री गर्दै आएको छ ।

उपल्लो डोल्पाको तिन्जे बिक्री केन्द्रबाहेक अन्य ठाउँमा आयोडिनयुक्त नुन पुर्याउने क्रम जारी रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख मनोज चौधरीले जानकारी दिनुभयो । 

चीन सरकारले अनुमति नदिएका कारण उपल्लो डोल्पामा नुन ढुवानी गर्न नसकिएको साल्ट ट्रेडिङले जनाएको छ । कर्णालीका पूरै र लुम्बिनीमा आयोडिनयुक्त नुन नेपालगञ्जबाट ढुवानी गरिँदै आएको छ । 

कर्णालीका हुम्ला, मुगु र डोल्पामा आयोडिनयुक्त नुन नपुग्ने समस्या यो वर्ष समाधान भएको प्रमुख चौधरीले जानकारी दिनुभयो । कर्णालीका जिल्लाहरुमा प्रति पोका नौ रुपैयाँले आयोडिनयुक्त नुन बिक्री हुने गरेको छ । 

ढुवानीमा अनुदानका कारण उक्त नुन प्रतिकिलो नौ रुपैयाँ परेको उहाँले बताउनुभयो । डोल्पाको सदरमुकाम दुनैमा दुई हजार पाँच क्विन्टल कोटामध्ये हालसम्म एक हजार एक सय क्विन्टल नुन ढुवानी भइसकेको छ । 

जुफाल डिपोमा पाँच सय मध्ये तीन सय क्विन्टल, काइगाउँमा तीन सय कोटामध्ये हालसम्म नुन पुर्‍याइएको छैन । ढुवानीको क्रममा बाटोमै रहेको साल्ट ट्रेडिङले जनाएको छ । 

त्रिपरासुन्दरीको लिकुमा तीन सय कोटा निर्धारण गरिएकामा ढुवानीको क्रममा रहेको प्रदेश कार्यालय, नेपालगञ्जका प्रमुख चौधरीले जानकारी दिनुभयो । मुडकेचुलाको सर्मीमा तीन सय क्विन्टलमा सबै नुन पुगेको उहाँको भनाइ  छ । 

तिन्जेमा एक हजार आठ क्विन्टल कोटा निर्धारण गरेकामा हाल सम्म पुर्याउन सकेको छैन । 

आयोडिनयुक्त नुनको आवश्यकता र माग दुवै उच्च रहेको भएपनि साल्ट ट्रेडिङले सीमित कोटा निर्धारण गर्दा बर्सेनी कर्णालीका स्थानीयवासीका लागि नुन अपुग हुने गरेको पूर्वमन्त्री गणेशप्रसाद सिंहले बताउनुभयो ।