काठमाडौं - गृहमन्त्री रमेश लेखक सवारी दुर्घटना न्युनीकरणका लागि सबै निकाय संवेदनशिल र जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको छ ।

सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार सवारी दुर्घटना जोखिम न्युनीकरण सम्वन्धमा आयोजित छलफल कार्यक्रममा गृहमन्त्री लेखकले यात्रुबाहक सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोक्न नदिन,तिव्र गतिमा सवारी चलाए कानुन बमोजिम जरिवाना र कारबाही गर्न,सवारी चालक अनुमती पत्र वितरण प्रक्रिया कडाइका साथ लागू गर्न र सडक सुधारका कार्यमा सक्रियताका साथ लाग्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो ।“सडक सुरक्षामा सबै निकाय र सरोकारवालाको सक्रियताले दुर्घटनामा कमी आउन सक्छ ।” उहाँले भन्नुभयो–“ पछिल्लो समय सवारी साधनमा क्षमता भन्दा बढी यात्रु बोकेका कारण सबैभन्दा बढी दुर्घटना भएको स्थिती छ ।”

बैठकपछि सञ्चारकर्मीहरुसित प्रतिक्रिया दिदैं गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले सडक सुरक्षामा ध्यान दिएर दुर्घटना न्युनीकरणका लागि सरोकारवाल निकायसित गहन छलफल भएको बताउनुभयो ।

“यात्रु बाहक सवारी साधनमा मालसामान नबोक्न र मालवाहक सवारीसाधनमा यात्रु नबोक्न मन्त्री लेखकले आग्रह गर्नुभएको छ ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ लामो दुरीका सवारी साधनमा दुई वटा चालक,यात्रु बाहक बसहरुमा टिकट अनिवार्य गरे नगरेको विषयमा तत्काल जाँच गरेर लागू गर्न पनि निर्देश भएको छ ।”

मन्त्री लेखकले जोखिम रहेका सडक राजमार्गहरु तत्काल मर्मत सम्भारमा ध्यान दिन पनि सम्वन्धीत मन्त्रालयका अधिकारीहरुलाई आग्रह समेत गर्नुभयो ।

“क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन प्रहरीलाई निर्देशन दिइएको छ ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ ट्राफिक नियम उल्घङ्न गर्ने यातायातलाई कारबाही गर्दा यातायात व्यवसायीले पनि सहयोग गर्नुपर्नेमा यातायात व्यवसायीलाई आग्रह गरिएको छ ।”

काठमाण्डौ उपत्यका लगायत मुलुकभर ट्राफिक चेकजाँच कडाइका साथ लागू गर्न छलफल समेत भएको छ ।

“बढ्दो दुर्घटना न्युनीकरणका लागि सबैले आ–आफ्नो क्षेत्रमा काम गरौं ।” प्रवक्ता तिवारीले भन्नुभयो–“प्रविधिमैत्री यातायात क्षेत्रको विकासमा समेत बैठकमा जोड दिइएको छ ।”

बैठकमा सहभागीहरुले प्रविधिीमैत्री यातायात क्षेत्रको विकासका साथै ट्राफिक व्यवस्थापन पनि आधुनिक प्रविधिको विकासमा जोड दिइएको प्रवक्ता तिवारीले जानकारी दिनुभयो ।

बैठकमा मन्त्री लेखकसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा,नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर,सशस्त्र प्रहरी प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल,नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी,यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल, सडक विभागका सिडिई राकेश महर्जन, नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष बिजय बहादुर स्वाँर,बरिष्ठ उपाध्यक्ष सरोज सिटौला लगायतको सहभागिता रहेको थियो ।