काठमाडौं - नेपाल टेलिकमले ग्राहक सेवामा सुधार गर्ने उद्देश्यले रोबोट प्रविधिको प्रयोग सुरु गरेको छ ।

सुन्धारास्थित टेलिकमको कार्यालयमा आज ‘एआई ज्याक’ नामक रोबोट सेवा सञ्चालन गरिएको कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीले बताउनुभयो ।

 कार्यालयमा दैनिक दुई सयदेखि तीन सय सेवाग्राही आउने भएकाले छिटो सेवा दिन रोबोट प्रविधि प्रयोगमा ल्याइएको बताउनुभयो ।

आगामी दिनमा रोबोटले धेरै काम सजिलो बनाउने अपेक्षा लिएको र सामान्य सोधपुछदेखि एनटिसी सेवाका छ सय जति प्रश्नको उत्तर ग्राहकले रोबोटमार्फत सुन्न सक्ने उहाँले जानकारी दिनुभयो ।

रोबोटलाई अझै प्रभावकारी बनाउन नयाँ प्रणाली जडान गर्ने योजना रहेको प्रमुख पन्थीले जानकारी दिनुभयो । रोबोटले सेवाग्राहीका एनटिसीका विषयमा सोधिएका प्रश्नका जवाफ दिनेछ । 

साथै कुन सेवा लिन कुन शाखामा जाने नक्सा विवरण पनि रोबोटले दिनेछ । प्रमुख पन्थीले विदेशीलाई समेत सुविधा दिने उद्देश्यले रोबोटमा अङ्ग्रेजी र नेपाली भाषाबाट सेवाको व्यवस्था मिलाइएको बताउनुभयो ।