काठमाडौं — थारू कल्याणकारिणी सभाको २३ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधान ढुंगाको अक्षर नभई गतिशील दस्तावेज भएको कुरा बताएका छन । संविधानलाई समाजको आवश्यकताका आधारमा परिस्कृत गरिदै लगिदै मन्त्री पौडेलको जिकिर थियो । 
संविधानले सबै समुदाय र नागरिकका अधिकारको सुनिश्चित गरेको छ, अझै पनि कहीँकतै कमी भएको छ भने ढुंगाको अक्षर नभएकोले संविधान परिमार्जन गर्न सकिने पौडेलको भनाइ थियो । 
मन्त्री पौडेलले सरकारले थारू समुदायको उन्नति र प्रगतिको लागि अगुवाइ गर्ने बताए । थारू समुदायमाथि भइरहेका विभेद र असमानता अन्त्यका लागि सरकारले नीति र निर्णयका माध्यमबाट अगुवाइ गर्ने उनले भने । अहिलेको सरकार २०७२ सालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका दलहरूकै रहेकोले यही सरकारले असमानता अन्त्य गर्ने उनले ठोकुवा गरे । 
राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्यका लागि संघर्ष गरेका दलहरूको सहभागितामा सरकार बनेकाले थारू समुदायमाथि मात्र होइन, कुनै पनि समुदाय र वर्गमाथि हुदै आएको विभेदको अन्त्य गरिने मन्त्री पौडेलको भनाई थियो ।