काठमाडौं - कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा एकेडेमी) का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गर्नुभएको छ ।

धरान उपमहानगरपालिका- १७ स्थित प्रदेश फुटबल सङ्घद्वारा आयोजित कार्यक्रममा खेलकुद सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताउनुभयो । 

मुख्यमन्त्री कार्कीले भन्नुभयो, “फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने त्यो भएको छैन । खेल र खेलाडीमा लगानी कम हुँदाहुँदै पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्‍याइरहेका छन् ।”

कार्यक्रममा एन्फा एकेडेमी धरानका ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्रयाकसुट लगायत फुटबल सामग्री वितरण गरिएको छ ।