काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षा सहित उपनिर्वाचनमा होमिन पार्टीका नेता÷कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । २०८१ मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर गर्न नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताको बीचमा जान भन्नु भएको छ । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं,’ अध्यक्ष प्रचण्डले ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् र टोल–टोल र घर–घरमा पुग्नुपर्ने बताउनु भयो । यसपटकको उपनिर्वाचनमा कीर्तिपुर नगरपालिकामा माओवादी केन्द्रको जितको आधार बलियो बन्दै गएको पनि अध्यक्ष प्रचण्डले दाबी समेत गर्नु भएको छ । ‘सांस्कृतिक वैभव यहाँको पुँजी र पहिचान हो,’ अध्यक्ष प्रचण्डले भने, ‘त्यसलाई थप स्थापित गर्दै कीर्तिपुरलाई देशभरिकै नमूना सांस्कृतिक नगर बनाउन प्राज्ञिक व्यक्तित्व महर्जनले मात्रै सक्नुहुन्छ भन्ने यहाँका मतदाताले राम्रोसँग बुझ्दै गएका छन्, त्यसैले उहाँलको जित निश्चित छ । नेकपा माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्रा.डा. शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि इञ्जिनियर नारायण विष्टलाई अघि पक्का गरेको छ । उम्मेदवार घोषणा गर्दै माओवादी केन्द्रका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले पार्टीको स्थानीय तहबाट सर्वसम्मत रूपमा आएको सिफारिस जिल्ला र प्रदेशले अनुमोदन गरेको जानकारी दिनु भएको छ ।