काठमाडौं - बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको हो ।
मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो ।
बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार उक्त मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने जनाइएको छ ।
बागमती प्रदेशमा विगत ११० दिनदेखि एक विना विभागीय मन्त्री कायम रहेका छन् । गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका एक मन्त्रीले जिम्मेवारी पाउन सकेका छैनन् ।
साउन १२ मा सरकारलाई पूर्णता दिएर साउन १५ मा विश्वासको मत लिँदै सरकार सुरक्षित गर्नुभएका उहाँले प्रदेशको १३ मन्त्रालयमा काँग्रेसका ७ र एमाले ६ मन्त्री नियुक्त गर्नुभएको थियो। जसमा काँग्रेसका मदुकुमार श्रेष्ठले जिम्मेवारी पाउनु भएको थिएन।
0 comment