काठमाडौं - साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड शाखा कार्यालय धनुषाले गत आर्थिक वर्ष २०८०- ८१ मा १८ करोड ६२ लाख ८१ हजार मूल्यबराबरको आयोडिनयुक्त नुन बिक्री गरेको छ ।

धनुषा, महोत्तरी तथा सिन्धुली कार्यक्षेत्र रहेको कार्यालयले उक्त तीनवटा जिल्लामा आफ्ना २५  डिलरमार्फत आयोडिनयुक्त नुन बिक्री गरेको हो । 

कार्यालयका अनुसार चालु आर्थिक वर्षको तीन महिना अर्थात् साउन, भदौ र असोजमा पाँच करोड २३ लाख मूल्यबराबरको नुन बिक्री गरेको छ । 

यो अवधिमा ४५ हजार तीन सय ७० बोरा नुन बिक्री भएको हो । कार्यालयले दसैँतिहार तथा छठपर्वलाई लक्षित गरी सहुलियत दरको सुपथ मूल्य पसल सञ्चालन गरी नुन बिक्री गरेको जनाएको छ ।

गत असोज ७ गतेदेखि कात्तिक २९ गतेसम्म सञ्चालन हुने सहुलियत दरको पसलबाट हालसम्ममा पाँच हजार छ सय प्याकेट नुन बिक्री गरेर दुई लाख ६१ हजार कार्यालयलाई आम्दानी भएको प्रमुख शुभनारायण साहले बताउनुभयो । 

सहुलियत दरका सो पसलबाट २४ प्रति प्याकेट तथा सोझै डिलरमार्फत २६ प्रति प्याकेट नुन बिक्री भइरहेको बताइएको छ । यस्तै कार्यालयले रासायनिक मलको कारोबार समेत गर्दै आएको प्रमुख साहले जानकारी दिनुभयो ।