काठमाडौं - आँबुखैरेनी गाउँपालिका४ स्थित मर्स्याङदी जलविद्युत् केन्द्रले हिउँदको समयमा पनि पूर्ण क्षमतामा बिजुली उत्पादन गरिरहेको छ ।
हाल घट्ने समय भए पनि समय समयमा पानी परिरहेकाले उत्पादनमा कमी नआएको हो ।
तीनवटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमताको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको केन्द्र प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो ।
असोजमा अविरल भारी वर्षा भएको र कात्तिकमा समेत मुसलधारे वर्षा परेपछि पूर्ण क्षमतामा बिजुली उत्पादन भइरहेको उहाँले बताउनुभयो । अहिले पानी प्रशस्त परेकाले अझै एक महिनासम्म पूर्ण क्षमतामै उत्पादन हुने सम्भावना देखिएको उहाँको भनाइ छ ।
गत वर्ष सुक्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट विद्युत् उत्पादन भएकामा हाल पूर्ण क्षमतामा उत्पादन भएको गौतमले बताउनुभयो ।
मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन पनि बढ्ने उहाँले बताउनुभयो ।
उहाँका अनुसार यस केन्द्रबाट उत्पादित विद्युत् चितवनको भरतपुरबाट काठमाडौँको स्टेसन मार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
सुक्खायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकाले पानीको बहाव थोरै हुँदा विद्युत् उत्पादन घट्ने केन्द्रले जनाएको छ ।
0 comment