काठमाडौं - म्याग्दीको मालिका गाउँपालिका- १ खहरेमा रहेको सिद्ध आधारभूत विद्यालय स्थापना भएको चार दशकपछि पक्की भवन निर्माण भएको छ ।
विभिन्न निकायको अनुदान सहयोगमा तीनवटा कक्षा कोठा भवन निर्माण भएको हो । श्रमदान सहित कूल एक करोड ७७ हजार पाँच सय ३४ को लागतमा निर्माण भएका तीनवटा भवनमा आठवटा कोठा रहेको प्रधानाध्यापक मोतिराज गौतमले जानकारी दिनुभयो ।
जग्गा व्यवस्थापन गरी नयाँ भवन निर्माण गरेपछि सुरक्षित र सहज रुपमा पठनपाठन हुने वातावरण सिर्जना भएको गौतमले बताउनुभयो ।
तत्कालीन राष्ट्रिय पुनः निर्माण प्राधिकरणको अनुदान र श्रमदान गरी कूल ८६ लाख ९१ हजार छ सयको लागतमा दुईतले चार कोठे भवन निर्माण भएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको अनुदान सहयोगमा दुई- दुई कोठे एकतले भवन निर्माण भएको हो ।
कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल एक सय ५० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कम्प्युटर प्रयोगशाला पनि रहेको छ ।
संविधानसभा सदस्य नवराज शर्मा, गण्डकी प्रदेशका पूर्वमन्त्री नरदेवी पुन र जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले भवनको आइतबार उद्घाटन गर्नुभयो।
0 comment