काठमाडौं - सहकारी ठगी कसुरमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज रूपन्देही लगिने भएको छ। 

सहकारीको रकम हिनामिना गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ पर्नुभएका लामिछाने अनुसन्धानका लागि २४ दिनदेखि कास्की प्रहरीको हिरासतमा हुनुहुन्छ। 

आइतबार कास्की जिल्ला अदालतले लामिछानेलाई थप १३ दिन हिरासत राख्न अनुमति दिएपछि प्रहरीले आज रूपन्देही लैजाने तयारी गरेको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नुभएका पूर्व गृहमन्त्री समेत रहनुभएका लामिछानेमाथी बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप लागेको छ।

सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उहाँलाई पक्राउ गर्न रूपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ।

लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको थियो।

कास्की प्रहरीसँगको समन्वयमा आज साँझ जहाज मार्फत भैरहवा लैजाने तयारी भएको रूपन्देही प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख रन्जित सिंह राठौरले लामिछानेलाई मिलेसम्म आज नभए भोली (मंगलबार) बिहानसम्म ल्याएर बयान लिन सुरु गरिने बताउनुभयो ।