काठमाडौं - यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुर लगायतका मधेसका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ ।

गत वर्षको सोही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो । 

पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको थोक व्यापारी जेके फ्लावर एन्ड गिफ्ट हाउस जनकपुरका सञ्चालक जितेन्द्रकुमार भण्डारीले बताउनुभयो ।

उक्त परिमाणमा फूल किनबेच जनकपुर, जलेश्वर, लहान, राजविराज, लालबन्दी, मलङ्गवा,  हरिऔन, चन्द्रनिगाहपुर तथा गौरको आसपासका बजारमा भएको हो ।

भण्डारीले यस वर्ष बजार मागको ९५ प्रतिशतभन्दा बढी फूलमाला आन्तरिक उत्पादन र पाँच प्रतिशतभन्दा कम भारतबाट आयात भएको बताउनुभयो।

जनकपुर बजार क्षेत्रमा फूल व्यापारी २० जना छन भने करिब दुई सय किसान फूल खेतीमा लागेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।