काठमाडौं - नवलपरासी (बर्दघाट- सुस्तापूर्व) को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २० रूपैयाॅ अनुदान दिने भएको छ । 

गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० रूपैयाॅ पुर्‍याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताउनुभयो । 

अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारी मार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताउनु भयो ।  

हुप्सेकोट गाउँपालिकाको आव २०८१- ८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दूधमा २० रूपैयाॅ नगद अनुदान दिने उल्लेख गरिएको छ ।

दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८- ७९ देखि प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम वृद्धि गरिएको हो।
     
उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको छ।