काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उहाँलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिदाइ गर्नुभयो ।
यसअघि नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो ।
राष्ट्रपतिको बिदाइका लागि उपप्रधानमन्त्री,मन्त्री,सांसद,नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू विमानस्थल पुग्नुभएको थियो ।
अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल बाकु जानुभएको हो । उहाँले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ ।
कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ ।
सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार बिहान स्वदेश फर्कनुहुने कार्यतालिका छ ।
0 comment