काठमाडौं - हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीयस्थल तिलिचो तालको आधार शिविर (बेसक्याम्प) मा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ ।
मनाङ ङिस्याङ गाउँपालिका- ९ खाङ्सारस्थित समुद्री सतहबाट चार हजार दुई सय ५० मिटर उचाइमा रहेको बेसक्याम्पमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युत् आपूर्ति सुरु गरिएको छ ।
बेसक्याम्पमा ५० केभिए क्षमताको वितरण ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
बेसक्याम्पमा १० वटा होटल, स्वास्थ्य चौकी र स- साना रेस्टुरेन्टहरु सञ्चालित छन् । बेसक्याम्पमा विद्युत्का ग्राहक सङ्ख्या १५ रहेको छ ।
राष्ट्रिय प्रसारण लाइन पुग्नुभन्दा पहिले बेस क्याम्पमा सौर्य ऊर्जा र डिजेल जेनेरेटरबाट विद्युत् उत्पादन गरी आपूर्ति हुँदै आएको थियो । उक्त स्थान अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्दछ ।
सौर्य ऊर्जाको व्याकअपले नधान्दा पर्यटकीयस्थलमा विगतमा विद्युत् आपूर्तिको ठूलो समस्या रहेको उल्लेख गर्दै मनाङ ङिस्याङ गाउँपालिका- ९ का वडाध्यक्ष च्योल्पा गुरुङले राष्ट्रिय प्रसारण लाइन पुगेपछि अहिले धेरै सहज भएको बताउनुभयो ।
0 comment