काठमाडौं - तोकिए बमोजिमको हवाई भाडा मात्र कायम राख्न र हवाई टिकटको उपलब्धता सहज र सुलभ बनाउन सरोकारवाला निकाय सहमत भएका छन् ।
हवाई भाडा नियन्त्रणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र सम्बन्धित सरोकारवालाबीच आज भएको छलफलपछि उक्त विषय कार्यान्वयनका लागि पाँच बुँदे सहमति भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द भएसँगै हवाई भाडादर महँगिएको गुनासो बढेपछि आज प्राधिकरण, अन्तरमन्त्रालयका प्रतिनिधि र स्वदेशी तथा विदेशी हवाई कम्पनीका प्रतिनिधिहरूको बैठकले हवाई टिकटको उपलब्धता एवं सहज र सुलभ हवाई यातायात सञ्चालन गर्न छलफल गरी निर्णय गरेको छ ।
जसअनुसार एयरलाइन्स कम्पनीहरूले ट्राभल एजेन्सीलाईपछि टिकट बिक्री गर्नेगरी एकमुष्ट रूपमा टिकट बिक्री गर्ने अधिकार (टीबीए) खारेज गर्ने निर्णय भएको छ । अब सम्पूर्ण वायुसेवा कम्पनीहरूले यसको पालना गर्नुपर्नेछ ।
सबै वायुसेवा सञ्चालकले दुईपक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्नेगरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ ।
हिजोदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘ट्याक्सी वे’ निर्माणको कार्य सुरु भएको छ । उडान समय कटौति भएपछि एयरलाइन्सहरूले महँगो हवाईभाडा लिएको गुनासो आइरहेको थियो ।
0 comment