काठमाडौं - सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका- १ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ ।
फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो ।
मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद) को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिनुभयो ।
रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका थिए। चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो ।
गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।
फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् ।
घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले हिजो घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ ।
0 comment