काठमाडौं ।
कोशी प्रदेशका कानुन मन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा मुछिएका छन । जापान प्रकरणमा परेका मन्त्रीले पदबाट राजिनामा दिइसकेका छन । मन्त्री लिलाबल्लभ अधिकारी आफै कानुन व्यवसायि पनि हुन । मानव तस्कारसँगको उठबसमा जापानको सपनामा भुल्दा मन्त्री पद पनि गयो दोषी देखिए आफै कानुनको फन्दामा पर्ने निश्चित देखिन्छ । 
एक साता अघि मन्त्री अधिकारी जापान उडेका थिए । चार जना असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई सुइको नै थिएन । 
प्रदेश सरकारलाई सुइको नभए पनि जापान सरकारले भने उनको नियत मज्जाले बुझ्न सफल भयो । मानव तस्करीको आरोपमा ४८ घण्टा केरकार गरेर विमानस्थलबाट मन्त्रीको टिमलाई फर्काइ दियो । मानव तस्करीको विवाद आफू मुछिएपनि बुधबार उनले राजीनामा दिए ।  
जापानस्थित टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी कात्तिक १३ मा जापान उडेका थिए । 
प्रदेशका मन्त्रीले पनि विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्ने व्यवस्थालाई मन्त्री अधिकारीले कुल्चिएका थिए । 
मन्त्री अधिकारीले जापान जादा अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लगेका थिए । मन्त्रीसँग सँगै गएका व्यक्तीहरु मन्त्रालयसँग कुनै पनि साइनो नभएका व्यक्ति थिए । 
मन्त्री अधिकारीसँगै गएका चार जना व्यक्तीहरुको कागजपत्र शंकास्पद देखिएपछि जापानको अध्यागमनले करिब ४८ घण्टा विमानस्थलमा राखेर केरकार गरेको थियो । लगत्तै मन्त्रीसहित पाँचै जनालाई क्याथे प्यासेफिकको उडान नम्बर ६०३ बाट काठमाडौं जापानको अध्यागमनले नेपाल फर्काइएको थियो । मन्त्री अधिकारी र तिमल्सिनालाई त्रिभुवन विमानस्थल अध्यागमनले सामान्य सोधपुछपछि कागज गराएर छाड्यो भने अन्य ३ जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 
मन्त्री अधिकारीसहित पाँचै जनालाई जापानको अध्यागमनले फर्काइदिएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतले बताएका छन  । ‘जापान अध्यागमनले फर्काइदिएपछि उहाँहरू पाँचै जना कात्तिक १७ गते काठमाडौं आइपुग्नु भएको थियो । यात्रासँग सम्बन्धित कागजपत्रमा कैफियत देखिएको जानकारी पाएपछि हामीले थप अनुसन्धानका लागि प्रहरीलाई जिम्मा लगाएका छौं अध्यागमनका ती अधिकृतले भने । 

जापानबाट फर्काइएका ३ जनामाथि अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले थप तीन जनालाई पक्राउ गरेको छ भने उनीहरू ६ जनामाथि नै थप अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मामा पठाइएको छ । परिसर प्रमुख एसएसपी वसन्त रजौरेले उनीहरूविरुद्ध सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जानकारी दिएका छन  । 
‘अन्य कसुर देखिए त्यसमा पनि अनुसन्धान हुन्छ,’ उनले भने । रजौरेका अनुसार जापानबाट फर्काइएकामध्ये देवकोटा रसुवाको कालिका गाउँपालिका–५ घर भई मनमैंजु बस्दै आएका हुन भने शेर्पा खोटाङको ऐंसेलुखर्क गाउँपालिका–२ घर भई बूढानीलकण्ठ–११ बस्छन ।  त्यस्तै खोटाङकै केपिलासगढी गाउँपालिका–४ घर भएका राई बूढानीलकण्ठ–११ बस्दै आएका व्यक्ती हुन । 

अनुसन्धानका क्रममा भने नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुशी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार, धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डेलाई पनि प्रहरीले समातेको छ । 
मन्त्री अधिकारीले भने मानव तस्करको गिरोहले आफूलाई प्रयोग गर्न खोजेको दाबी गरेका छन ।  ‘मानव तस्करले प्रयोग गर्न खोजेका रहेछन । थाहा पाएपछि विमानस्थलबाटै फर्किर्एँ,’ मन्त्री अधिकारीले भने । अधिकारीका अनुसार मोरङको रतुवामाई नगरपालिका निवासी गोपाल गौतमले टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन जापान जाने चाँजोपाँजो मिलाएका थिए  । जापान उडने टिकटको व्यवस्था समेत उनैले गरेको जनाइएको छ । 
मुख्यमन्त्री हिक्मत कार्कीनिकट स्रोतले बताए अनुसार मन्त्री अधिकारीले जापान उड्नु अघिल्लो दिन फोन गरेर मुख्यमन्त्रीलाई भ्रमणबारे जानकारी दिए  । ‘मुख्यमन्त्रीले व्यक्तिगत भ्रमण भए पनि सरकारी प्रक्रिया पूरा नगरी जान नमिल्ने बताउनुभएको रहेछ,’ स्रोतले भन्यो, ‘तर, उहाँ त्यस कुराको प्रवाह नै नगरी उड्नुभयो । जापानले फर्काइदिएपछि अधिकारीले मुख्यमन्त्री कार्कीलाई भेटेर आफू काठमाडौंबाट एक्लै उडेको तर हङकङ ट्रान्जिटमा अन्य तीन जना भ्रमणदलको सदस्य दाबी गर्दै आफ्नो सम्पर्कमा आएको बताउन सम्म भ्याएका थिए । मुख्यमन्त्री कार्कीले मंगलबार बिहान निवासमै भेटेर उनलाई राजीनामा गर्न निर्देशन दिएका थिए । मन्त्री अधिकारी मोरङको क्षेत्र नम्बर २ (२) बाट निरन्तर दुई पटक निर्वाचित एमाले सांसद हुन ।