काठमाडौं - चितवनको रत्ननगर नगरपालिका- २ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ । 

खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेमध्ये रत्ननगर- १३ अमिलियाका  २१ वर्षीय सुनिल पौडेलको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । सोही ठाउँका २० वर्षीय साहिल परियार र २१ वर्षीय सञ्जय लामा गम्भीर घाइते छन् । 

उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।