काठमाडौं - पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ ।
यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ ।
उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि बाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।
एकीकृत बागमती सभ्यता विकास समिति अन्तर्गत बाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिरहेको जनाएको छ ।
वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
आयोजनाका उप- निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आज साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिनुभयो । धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्नका लागि १४ घण्टा लाग्ने भएकोले अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेको उहाँले बताउनुभयो ।
प्रतिसेकेण्ड चार सय लिटर
समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिनुभयो ।
मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उहाँको भनाइ छ ।
लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी नै खपत नभएपछि बाँकी रहेको पानी वाग्मती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताउनुभएको छ ।
धाम ड्यामको महत्व
काठमाडौँ उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका- १ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाम ड्याम धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । योसँगै यस ड्यामले वाग्मती नदीमा पानीको सतह बढाएर नदीको सौन्दर्यता कायम गर्न समेत सहयोग पुगेको समितिको भनाइ छ ।
पर्यटकीय महत्व
धाम ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जानेहरुको पनि चहलपहल बढेको छ । काठमाडौँको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भएको थियो ।
दुई वर्षअघि मात्रै यसको उद्घाटन भएको थियो । शिवपुरी- नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेको जानकारी दिनुभएको छ ।
बर्खामा पानी जम्मा गर्ने, हिउँदमा नदीमा छाड्ने
धाम ड्याममा बर्खामा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो ।
बर्खामा जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोडिने आयोजनाको लक्ष्य छ ।
एशियाली विकास बैंकको ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वमा वाग्मती नदीमा पानी छोड्ने गरिन्छ ।
धाम ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रुपमा वाग्मती नदीमा पानी छाड्ने सरकारको आयोजनाको लक्ष्य कार्यन्वयनमा भने चुनौती देखिएको छ ।
नदीमा पानीको सतह बढाउन आवश्यकता अनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रुपमा पानी छाड्न नसकिएको उप- निर्देशक नेपालको भनाइ छ ।
उहाँले हाल नागमती ड्याम निर्माणको तयारी भइरहेको र नागमती ड्याम निर्माण सम्पन्न भएपछि नदीमा पानी बढाउन सम्भव रहेको बताउनुभएको छ ।
अहिले शिवरात्रिमा तीन दिन, बालाचतुर्दशीमा दुई दिन, मातातिर्थ औसीमा एक दिन, छठ पर्वमा दुई दिन, मकर संक्रान्तीमा एक दिन पानी छाड्ने तयारी छ ।
यसैगरी हरिबोधनी एकदशीमा एक दिन, माधव नारायण मेलाको पहिलो र अन्तिम दिन गरी दुई दिन, रामनवमीमा एक दिन, नयाँ वर्षमा एक दिन ड्यामको पानी वाग्मती नदीमा बगाइने उहाँले बताउनुभयो ।
0 comment