काठमाडौं - जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताउनुभयो । 

वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठपर्व मनाइदैछ । वीरगञ्जमा सबैभन्दा धेरै दर्शनार्थी तथा अवलोकनकर्ता घडीअर्वा पोखरीमा आउने गर्छन् । त्यसैले घडीअर्वा पोखरीको सुरक्षा चुनौती प्रमुख हुने गर्छ । 

घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिका संयोजक मनोहर गुप्ताले घडीअर्वा पोखरीमा करिब एक लाख ५० हजार भन्दा धेरै अवलोकनकर्ता आउने भएकाले सुरक्षा चुनौती मुख्य रहने बताउनुभयो । 

छठपर्व कात्तिक शुक्ल चतुर्थी अर्थात आजदेखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले घडीअर्वा पोखरीको शान्ति सुरक्षाको लागि २० थान सीसी क्यामेरा जडान गरिसकेको जानकारी दिनुभयो ।

विशेष गरी कात्तिक २२ गते अस्ताउँदो सूर्यलाई अर्घ्य दिने बेला र २३ गते उदाउँदो सूर्यलाई अर्घ्य दिने बेला निकै सावधानी अपनाउन आवश्यक देखिने गरेको उहाँले बताउनुभयो ।