काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई म्याद थपका लागि  जिल्ला अदालत कास्कीमा उपस्थित गराइएका बेला रास्वपा कार्यकर्ताले निषेधित क्षेत्र तोड्न खोजेपछि कास्की प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । केहीलाई पक्राउ गरेको बताईएको छ ।

रास्वपाको प्रदर्शन नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी पाण्डेले कात्तिक ४ गते सहिद चोक आसपास र जिल्ला प्रहरी कार्यालय कास्की रहेको क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको थियो ।

लामिछानेमाथि थप अनुसन्धान गर्नुपर्ने भन्दै २५ दिन हिरासतमा राख्नुपर्ने प्रहरीले माग गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मार्फत प्रहरीले रविमाथि अनुसन्धान गर्न कास्की जिल्ला अदालतमा थप २५ दिनको म्याद दिनुपर्ने माग गरेको हो। तर,लामिछानेको पक्षका वकिलहरूले भने अनुसन्धान भइसकेकाले छोड्न माग गरेका छन् ।

लामिछानेसहित गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलाई म्याद थपका लागि आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा सङ्गठित अपराध,सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा लामिछाने र जोशीमाथि अनुसन्धान जारी छ ।