काठमाडौं - सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँके, पर्वत लगायतका जिल्लामा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्‍याएपछि किसान चिन्तित बनेका छन् ।

वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छ भने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज- १७ परसपुरका किसान रामसुरत बर्माले बताउनुभयो । 

दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उहाँको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइ डराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ । 

नेपालगञ्ज- १७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताउनुभयो । 

बेमौसमी वर्षाले धान स्याहार्न नपाएका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्याएको जानकारी दिनुभयो। 

के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका उहाँले बताउनुभयो ।

पर्वतमा पनि धेरै क्षति
पर्वतका विभिन्न क्षेत्रमा पनि हिजो दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ । 

वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छ भने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् । 

जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए । 

कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका- २ देउपुरका प्रकाश चापागाईँले जानकारी दिनुभयो । 

धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल भिजेको किसानले गुनासो गरेका छन् । 

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताउनुभयो । यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो ।

त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उहाँको भनाइ छ । क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको उहाँले बताउनुभयो। 

धान पर्वतको मुख्य बाली हो  । पटकपटक आएको असिना र भारी  वर्षाले धानबालीमा क्षति पुर्‍याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ ।