काठमाडौं - प्लास्टिक निरुत्साहित गर्ने उद्देश्यले कैलालीको भजनी नगरपालिका- १ मा दुई जना युवाले मष्टा बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याएका छन् । 

बजारमा प्रयोग हुने प्लास्टिकको विकल्पमा वातावरणयुक्त झोला उत्पादन गर्न उक्त बायोप्लान्ट उद्योग सञ्चालनमा ल्याइएको हो ।   
   
भजनी- ५ का भीमबहादुर विक र वडा नं १ का करन कार्कीले संयुक्त लगानीमा उद्योग सञ्चालन लाएका हुन् ।

सरकारले प्लास्टिक झोला प्रतिबन्धसम्बन्धी कार्ययोजना २०७८ स्वीकृत गरेसँगै उद्योग सञ्चालनमा ल्याएको भीमबहादुर विकले बताउनुभयो ।

बजारमा प्रयोगमा ल्याउने प्लास्टिकले मानवीय तथा वातावरणीय रुपमा प्रतिकूल असर पर्ने भएकाले विकल्पका रुपमा उद्योग सञ्चालनमा ल्याइएको उहाँले उल्लेख गर्नुभयो । 
 
एक करोडभन्दा बढी लगानी गरेर सञ्चालनमा आएको उद्योगले दैनिक सात क्विन्टलसम्म झोला उत्पादन गर्न सक्नेछ । झोला बनाउने उपकरण खरिद गर्न मात्रै ८० लाख खर्च भएको विकले जानकारी दिनुभयो ।

दुई वर्ष सम्भाव्यता अध्ययन गरेर उद्योग सञ्चालनमा ल्याइएको अर्का सञ्चालक करन कार्कीले बताउनुभयो । उहाँले उद्योगको भविष्य स्थानीय सरकार र व्यापारीमा निर्भर रहेने उल्लेख गर्नुभयो ।

भारतसँग खुला सिमाना भएकाले प्लास्टिकका झोला सहजै चोरीपैठारीबाट नेपाली बजारमा भित्रने समस्या रहेको बताउँदै कार्कीले सोही कारण बजारीकरणमा चुनौती हुने उल्लेख गर्नुभयो । 

प्लास्टिकको झोला बजारमा प्रतिकेजी तीन सयमा उपलब्ध हुँदा उद्योगले उत्पादन गरेको वातावरणमैत्री झोला प्रतिकेजी तीन सय ५० मा बिक्री गर्नु परिरहेकाले बजारीकरणमा समस्या हुने उहाँको भनाइ छ । 

स्थानीय बजारमा उत्पादन भएको झोला खपत नहुँदा धनगढीमा भने राम्रो माग भइरहेको कार्कीले बताउनुभयो ।