काठमाडौं - बेरोजगारले अत्तालिएका युवाहरुलाई कसैले रामै देशमा पठाइदिन्छु भन्दा पक्कै पनि विश्वास गरेर मागेजती रकम बुझाउने कुनै नयाँ कुरा हैन । प्राय विदेश पठाइदिने वहानामा ठगी धन्दा निकै बढिरहेको छ । विशेषगरी यूरोप पठाइदिने बहानामा ठूलो रकम ठगी गर्ने अवसर मानव तस्करहरुलाई मिलिराखेको छ । 

ठग्ने व्यक्ती जुन देशमा भएपनि एक एक दिन प्रहरीको फन्दामा पर्ने वा प्रहरीको आँखाबाट नउम्कीने एक उदाहरण बनेको छ सिन्धुपाल्चोककी विनु शाक्य पक्राउको समाचार । वैदेशिक रोजगारी ठगी लगायत मुद्दामा रेड नोटिस जारी भएका सिन्धुपाल्चोक मांखाकी बिनु शाक्यलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । विनुलाई एनसिबी कम्बोडियाको सहयोगमा पक्राउ गरी आइतबार नेपाल फिर्ता ल्याइएको छ । 

प्रहरीका अनुसार विनु शाक्य र सुजन आचार्यले सिंगापुर पठाइदिन्छु भनि ४० जना भन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार रहेका थिए । 

फरार भएकी विनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध गरेपछि २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी गरिएको थियो । 

असोज १ गते कम्बोडियाबाट दुवै जना प्रहरीको फन्दामा परेका थिए भने पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको थियो र बिनुलाई भने कारवाही गराउन प्रहरी बृत्त कालीमाटीमा बुझाइएको जनाइएको छ । सयम लाग्ला तर नेपाल प्रहरीले अपराधीलाई कुनैपनि कुनाबाट पक्राउ गर्न अहिलेसम्म सफल भइरहेको छ ।