काठमाडौं - पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर दुई लाख बढीको आम्दानी भएको छ ।
तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ ले उक्त आम्दानी गरेको हो ।
फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताउनुभयो ।
तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उहाँले बताउनुभयो । बुटवल, तानसेन, पोखरा लगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउनुभयो ।
बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उहाँको भनाइ छ । फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ ।
प्रतिकिलो फूल पाँच सय र प्रतिमाला एक सय ५० मा बिक्री भएको थापाले बताउनुभयो । हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उहाँको भनाइ छ ।
यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ । हरेक वर्ष दुई लाखदेखि तीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताउनुभयो ।
0 comment