काठमाडौं ।
बिहानैदेखि काठमाडौंमा परेको वर्षाले जनजीवन कष्टकर हुनुका साथै हवाई उडान पनि प्रभावित भएको छ ।
विहानैदेखि परेको वर्षाले भिजिबिलिटी कमजोर हुँदा काठमाडौँबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन नसकेको जनाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान सामान्य रूपमा सञ्चालन भइरहेको स्रोतले बताएको छ
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बंगाल आसपास रहेको न्यून चापीय प्रणालीकोसमेत आंशिक प्रभावले वर्षा भइरहेको छ ।
महाशाखाले बताए अनुसार देशको पहाडी भेगमा आंशिकदेखि साधारणतया मौसम बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने जनाइएको छ । 
बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी पहाडी भागका केही स्थानमा र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ ।