काठमाडौं - प्रतिकूल मौसमले हवाई उडान सामान्य प्रभावित भएको छ । 

मौसम प्रतिकुल भएपछि भिजिबिलिटी कमजोर हुँदा काठमाडौंबाट देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले लुक्ला गन्तव्यमा बाक्लो तुवाँलोका कारण हवाई उडान हुन नसकेको बताउनुभयो ।

मौसममा आएको खराबीका कारण दुर्गम क्षेत्रको उडान प्रभावित भएको छ । सुगम क्षेत्रका विमानस्थलको उडान भने नियमित रूपमा सञ्चालन भइरहेको  उहाँले बताउनुभयो ।

काठमाडौं विमानस्थलमा आन्तरिकतर्फ इन्स्ट्रयुमेन्ट फ्लाइट रुल्स (आइएफआर) उडान मात्र भइरहेको छ । मौसमका कारण भिजुअल फ्लाइट रुल्स (भीएफआर) उडान हुनसकेको छैन । उडान प्रभावित हुँदा गन्तव्यमा हिँडेका पर्यटक अलपत्र परेको विमानस्थल कार्यालयले जनाएको छ । 

काठमाडौंबाट तराई क्षेत्रका विमानस्थलमा उडान नियमित भइरहे पनि दुर्गम क्षेत्रका अधिकांश उडान हुन सकेको छैन । आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान समान्य रूपमा सञ्चालन भइरहेको छ ।

देशभर पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको पश्चिम बङ्गाल आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ ।