काठमाडौं - विश्व सहरी फोरमको १२ औँ अन्तर्राष्ट्रिय सम्मेलनमा चन्द्रागिरि नगरपालिकाले विशेष प्रस्तुति गर्ने भएको छ ।

संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमद्वारा यही कात्तिक १९ देखि २३ गतेसम्म इजिप्टको कायरोमा आयोजना हुने सम्मेलनमा नगरपालिकाले पहिलो पटक तयार पारेको  ‘स्थानीय स्वेच्छिक मूल्याङ्कन प्रतिवेदन (भिएलआर)’ प्रस्तुत गर्न लागेको हो । 

विश्वका एकसय ५० भन्दा बढी देशको सहभागिता हुने अन्तर्राष्ट्रिय सम्मेलनमा दक्षिण एसियाली देशका सहरबाट (स्थानीय पालिका) चन्द्रागिरि नगरपालिकाले भाग लिने लागेको हो । 

दिगो विकास लक्ष्यका केही विषयगत क्षेत्रलाई स्थानीयकरण गर्न चन्द्रागिरिले ‘भिएलआर’ प्रतिवेदन तयार गरेको थियो । सम्मेलनमा भाग लिन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी शनिबार इजिप्टको कायरो तर्फ प्रस्थान गर्नुभएको छ । 

उहाँले सम्मेलनमा नगरपालिकाका तर्फबाट भिएलआर प्रतिवेदन प्रस्तुत गर्नुका साथै नगरपालिकाले सम्पादन गरिरहेका कामका बारेमा प्रस्तुति एवं सम्बोधन समेत गर्नुहुनेछ ।  

सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न र यसलाई स्थानीयकरण गर्न नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन तयार पारेको थियो ।

प्रमुख गिरीले दिगो विकास लक्ष्यमध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाइ, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर जस्ता लक्ष्यलाई स्थानीयकरण गर्न नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासलाई प्रतिवेदनमा समावेश गरिएको बताउनुभयो।

चन्द्रागिरि यस्तो प्रतिवेदन प्रस्तुत गर्ने दोस्रो नगरपालिका हुनेछ । यसअघि धुलिखेल नगरपालिकाले ‘भिएलआर’ प्रतिवेदन प्रस्तुत गरिसकेको छ ।