काठमाडौं -  थाई एसिया एयरलाइन्स बैङ्कक–भैरहवा–बैङ्कक उडान आजदेखि सुरु गरेको छ ।

आज बिहान ६:५५ बजे थाई एसियाको विमान चालक दलका सात सदस्यसहित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । “सुरुमा परीक्षण उडानका रूपमा चालक दलका सदस्यसहित थाई एसियाको एयर बस ए–३२० गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो”, विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले भन्नुभयो, “अब २३ कात्तिकदेखि सातामा दुईपटक नियमित उडानको तालिका रहेको छ ।”

थाई एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए । थाई एयर एसियाको केही दिनअघि मात्र भैरहवा र पुनःउडान काठमाडौंमा सुरु गर्न अनुमति पाए लगत्तै उडान सुरु भएकोले टिकट बिक्री लगायत बजार प्रवर्द्धनको काम भएको थिएन ।

भैरहवाबाट बैङ्ककतर्फ एकतर्फी सुरुआती भाडा दर रु १२ हजार रहेको जनाइएको छ । एयर एसियाको यो विमान बिहान ७:४० बजे बैङ्कक प्रस्थान गरिसकेको छ ।