काठमाडौं - सरकारले विद्यालय र विद्यालय बाहिर रहेका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप अभियान सञ्चालन गर्ने भएको छ।
स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले विद्यालयका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका लक्षित गरी खोप अभियान सञ्चालन गर्न थालिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार ती उमेर समूहका करिब १६ लाख ८८ हजार किशोरीले एचपिभी खोप लगाइने छ ।
डा गौतमले खोप अभियान आगामी माघमा करिब १५ दिनसम्म सञ्चालन गरी प्रत्येक पालिकाका माध्यमिक तहका किशोरीलाई लगाइने जानकारी दिनुभयो । उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धको सबैभन्दा ठूलो अभियान हुने बताउनुभयो ।
विद्यालयमा रहेका किशोरीलाई विद्यालयमा खोप केन्द्र बनाएर ‘एचपिभी’ खोप लगाइने छ भने विद्यालय बाहिर रहेका किशोरीलाई स्वास्थ्य संस्थामा गएर खोप लगाउने गरी तयारी गरिएको उहाँले बताउनुभयो ।
यसअघि सरकारले सात प्रदेशका एक- एक वटा सङ्घीय अस्पतालमा डेमोष्ट्रेसन (नमूना) का रुपमा ‘एचपिभी’ खोप नौ हजार नौ सय ९९ किशोरीलाई लगाएको थियो ।
नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चारजना महिलाको मृत्यु हुने गरेकाले पाठेघरको मुखको क्यान्सरबाट किशोरीलाई बचाउन अभियान सञ्चालन गर्न लागिएको खोप शाखाका प्रमुख डा गौतमले उल्लेख गर्नुभयो ।
सरकारले निःशुल्क उपलब्ध गराउन थालेको भन्दै उक्त खोप बाहिर लगाउँदा करिब छ हजार पर्ने जानकारी दिनुभयो ।
एचपिभी खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा सरकारले खरिद गरेको हो । खोप शाखाका प्रमुख डा गौतमले अर्को वर्षदेखि एचपिभीलाई नियमित खोप अभियान अन्तर्गत राखिने जानकारी दिनुभयो ।
खोप एक पटक लगाएपछि जीवनभरका लागि काम गर्ने भएकाले खोप अभियानमा सहभागी हुन किशोरी सहित अभिभावकलाई उहाँले आग्रह गर्नुभयो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ‘ह्युमन प्यापिलोमा’ नामक भाइरसको सङ्क्रमण रहेकाले यसको विरुद्ध खोप लगाउनुपर्ने बताउनुभयो ।
नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ ।
0 comment