काठमाडौं - मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस बेलबारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा-११ फुटबल क्लबले जितेको छ ।
शनिबार बेलारी-११ लक्ष्मी मार्गस्थित लक्ष्मी खेलमैदानमा भएको फाइनल खेलमा टाइब्रेकरमा सलहेस फुटबल क्लब सिराहालाई ५- ३ गोलअन्तरले हराउँदै झापाले उपाधि जितेको हो ।
उपाधिसँगै झापा-११ ले आठ लाख नगदसहित ट्रफी जितेको छ । यस्तै उपविजेता सलहेस फुटबल क्लब सिराहाले चार लाख नगदसहित ट्रफी प्राप्त गरेको छ।
फाइनल खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए । उनले नगद पाँच हजार सहित ट्रफी प्राप्त गरे । झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिडफिल्डर, सन्तोष गुरुङ उत्कृष्ट प्रशिक्षक र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए । तामाङले १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही सात हजार नगद तथा ट्रफी प्राप्त गरे ।
यस्तै सलहेश फुटबल क्लबका अजयी मार्टिनले सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरे । उनले खेल अवधिभर पाँच गोल गरेका थिए । सलहेशका समीर तामाङले उत्कृष्ट फरर्वाडको उपाधिसँगै रु सात हजार नगद र ट्रफी प्राप्त गरे ।
विजयी खेलाडीलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, कोशी प्रदेशका प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई र एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईलगायतले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिता यही कात्तिक २ गतेदेखि सुरु भएको थियो ।
0 comment