काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारले नेपालमै सुशासनको सवालमा ऐतिहासिक रेडर्क बनाएको बताउनुभएको छ । यसलाई कसैले मेटाउन नसक्ने पनि बताउनुभयो ।

माओवादी केन्द्र बागमती,उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले सुशासन,सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड बनाएको दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले नक्कली भूटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको उल्लेख गर्दै अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको बताउनुभयो । उहाँले चार दिनको तयारीले गरेको खबरदार सभाले सरकार तर्सेको उल्लेख गर्दै भोलि ठूलै बिरोधसभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न गर्नुभयो । उहाँले आफूहरुले जनताका मुद्दालाई ज्ञापनपत्रको रुपमा प्रस्तुत गरिएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोल चर्कदै जाने समेत बताउनुभयो ।

बाढीपहिरो पीडितलाई राहत,उद्धार र पुनर्स्थापना गर्ने तथा आफूहरुले थालेको सुशासनको अभियान,उर्जा क्षेत्रमा गरेको क्रान्ति,शैक्षिक क्षेत्रमा लागु गरेको मेरिटोक्रेसी आदि कामलाई सरकारले अगाडि बढाएन भने आन्दोलन अघि बढाउने चेतावनी समेत  दिनुभयो ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले अब कसैसँग गठबन्धन नगर्ने  एक्लै चुनाव लडेर विगतमा गरिएको गल्ती सच्याउने बताउनुभयो ।