पं. बालमुकुन्द देबकोटा

मिति २०७८ साल चैत्र कृष्णपक्ष १४ गते सोमबार पापमोचनी एकादशी तिथि साँझ ४ / २९ बजेसम्म हुनेछ। त्यस उप्रान्त द्वादशी तिथि आरम्भ हुने भएकोले यो व्रतको बिधि के हो ? सर्वप्रथम कसले गर्यो ? उसले के फल प्राप्त गर्यो ? हामीले बुझ्नु जरुरी छ। 

श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताउनु भएको इतिहास हो। 

पहिला बशन्त ऋतुको बेलामा अप्सराहरुले विहार गर्ने राम्रो चैत्ररथ नाम गरेको बनमा च्यवन ऋषिको आश्रममा मेधावी नाम गरेको ऋषि तपस्या गरेर बसिरहेको अबस्थामा मञ्जुघोषा नामकी अप्सराले ति ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाउँदै ऋषिको तपस्या समाप्त पार्दै ति मुनिको आचार, विचार, तपस्या, नियम, आचरण सवै लोप बनाई स्वर्ग जानको लागि मेधावी ऋषिलाई बिन्ति गर्न लागिन् र ऋषि मोहमा पर्दै तिमि आजै आएकी हौ। अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछी जाउली भन्न थाल्नुभयो। हुँदा - हुँदा ति दुवै पच्पन्न वर्ष, नौ महीना, तीन दिनसम्म रमण गर्दै बितेछ। 

त्यसपछि ति अप्सराले म अब जान्छु भन्दा ऋषि भन्नुहुन्छ अब सन्ध्या गरुन्जेल बस भन्दा तिनी प्रश्न गर्छिन् हजुरको सन्ध्या कति लामो छ? त्यसपछि ऋषिले ध्यान गरेर हेर्दाहेर्दै तिनीसँग सन्तावन्न बर्ष बितेको र आफ्नु जप - तप, तपस्या, आचार - विचार सवै कर्म लुप्त भएको देखेर "स तां शशाप मेधावी त्वं पीशाची भवेति च " अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिए। 

त्यसपछि ति मञ्जुघोषा हात जोड्दै बिन्ति गर्दछिन् हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ भन्दा ऋषि आज्ञा गर्नुहुन्छ हे पापिनी तैंले अब चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नाम गरेको एकादशीको व्रत गरिस् भने तेरो सवै पापनाश हुनेछ भनेर आफुचाहिं बाबु च्यवन ऋषिलाई यो पापको प्रायश्चित कसरी हुनेछ भनी प्रश्न गर्दा बाबु भनुहुन्छ हेर चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ र त्यस एकादशीको व्रत गर्‍यौ भने समस्त पाप नाश हुन्छ । बाबाले भनेको सुनेर ति मेधावी ऋषिले यो पापमोचनी एकादशीको व्रत गरे भने यता ति मञ्जुघोषा अप्सराले पनि व्रत गरेर आफ्नो श्राप समाप्त गरि स्वर्ग गईन् । यता मेधावी ऋषि पनि फेरि पुण्यवान भए। 

त्यसैले सम्पूर्ण मानवले आफुले जानी - नजानी गरेको पापहरु नाश गर्नको लागी यो व्रत अबस्य लिनुपर्दछ। जसले गर्दा पापहरु नाश हुनेछ र यो महात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फल मिल्नुको साथै धेरै पुण्य प्राप्त गर्दछ।