काठमाडौं - पहिलो टी-२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनायो।

अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै आन्द्रेस गौसले ३० रन बनाए । नेपालका दीपेन्द्रसिंह ऐरीले तीन विकेट लिए । यस्तै रिजन ढकाल, करन केसी र गुल्सन झाले समान एक विकेट लिए ।

त्यसअघि डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ६४ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रन बनाए । 

यस्तै दीपन्द्र सिंह ऐरीले २८, अनिल साह र आशिफ शेखले समान २७ रन बनाए । अमेरिकाका हर्मित सिंह, सौरभ नेत्रावलकर र जसदीप सिंहले समान दुई विकेट लिए ।

आजको जीतसँगै नेपालले तीन खेलको टी-२० शृङ्खलामा १-० को अग्रता बनाएको छ । अब नेपाल र अमेरिकाबीचको दोस्रो टी- २० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल सोमवार हुनेछ ।

यो टी-२० शृङ्खलापछि अमेरिकामै विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीचको त्रिदेशीय एकदिवसीय शृङ्खला हुनेछ ।

नेपालले अमेरिकासँग टी-२० अन्तर्राष्ट्रिय खेल पहिलो पटक खेल्न लागेको हो ।