काठमाडौं - राजधानीमा बिहिबारदेखि सुरु भएको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको उक्त खेलमा भारतले पाकिस्तानलाई ५–२ गोलअन्तरले पराजित गरेको हो ।
भारतले खेलको सुरुआतदेखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो । खेलको पाँचौँ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन् ।
त्यस्तै मनिषा कल्यानले खेलको १७औँ मिनेटमा गोल थप्दै भारतको अग्रता दोब्बर बनाइन् । त्यसपछि खेलको पहिलो हाफको ३५औँ मिनेटमा बाला देवीले भारतका लागि गोल गरिन् । भारतकी डाङ्मेई ग्रेसले खेलको ४२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् र भारतलाई ४–० को अवस्थामा पुर्याइन् ।
खेलको पहिलो हाफको अतिरिक्त समयमा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमार्फत गोल गरिन् ।
भारतकी असलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । खेलको पहिलो हाफसम्म ४–१ गोलको अग्रता लिएको भारतले दोस्रो हाफमा थप एक गोल गर्यो । खेलको दोस्रो हाफको सुरुआतमै कायल मारी सिद्दिकीले गोल गर्दै पाकिस्तानलाई खेलमा फर्काउने सङ्केत देखाएकी थिइन् ।
तर खेलको ७८औँ मिनेटमा भारतले पाँचौँ गोल थप्यो । भारतकी ज्योती चौहानले गोल गर्दै भारतलाई ५–२ को अग्रता दिलाइन् । जीतसँगै भारतले प्रतियोगितामा तीन अङ्क जोडेको छ । प्रतियोगिताको समूह ‘ए’ मा भारत, पाकिस्तान र बङ्गलादेश तथा समूह ‘बी’मा नेपाल, भुटान, श्रीलङ्का र माल्दिभ्स रहेका छन् ।
0 comment