काठमाडौं - चाइनिज ताइपेईलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पुरूषतर्फको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको फाइनल खेलमा फिलिपिन्सले चाइनिज ताइपेईलाई २७–१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो ।

खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो । उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो ।

यसैगरी भारतलाई पराजित गर्दै फिलिपिन्सले एसिया रग्बी इमिरेट्स–२०२४ को महिलातर्फको उपाधि जितेको छ । भारतलाई ७–५ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो ।

इन्डोनेसियालाई पराजित गर्दै गुआमले भने एसिया रग्बी इमिरेट्स–२०२४ मा तेस्रो स्थान हात पारेको छ । गुआमले इन्डोनेसियालाई २२–१९ ले पराजित गरेको हो । इन्डोनेसियाले सुरूआतीदेखि नै गुआमसँग प्रतिस्पर्धात्मक खेल पस्किएको थियो ।

सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियो । गुआम भने भारतसँग २४–७ ले पराजित हुन पुग्यो ।


नेपालको पुरूष टोली एसिया रग्बी इमिरेट्स–२०२४ ‘च्यालञ्ज थर्ड’ मा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो ।

एक समय नेपालले खेलमा पुनरागमन गरिसकेको थियो । त्यतिखेर नेपाल र अफगानिस्तानको स्कोर ५–५  थियो । नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो । योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो ।

यसअघि नेपाल ‘च्यालेन्ज’ मा कतारसँग ३३–० ले पराजित भएको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टङ्कलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाले पुरस्कार प्रदान गर्नुभयो ।