काठमाडौं - पश्चिम नवलपरासीको बर्दघाटमा तीन सवारी साधन ठक्कर खाँदा २० जना घाइते भएका छन्।

विद्यार्थी बोकेको स्कुल बस, यात्रुवाहक बस र मोटरसाइकल  ठोक्किँदा १४ जना विद्यार्थीसहित २० जना घाइते भएको प्रहरीले जनाएको ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर २ र ४ को सिमानामा पर्ने चिसापानी सामुदायिक अस्पताल अगाडि भएको दुर्घटनामा अन्य ६ जना यात्रु घाइते भएका हुन्।

पूर्व- पश्चिम महेन्द्र राजमार्गमा सुस्ता गाउँपालिकामा कार्यरत प्राविधिक वीरेन्द्र मण्डल चढेको बा २ ब ६५४९ नम्बरको मोटरसाइकलले अचानक सडक पार गरेपछि सुर्खेतबाट पोखरा तर्फ जाँदै गरेको ग २ ख १५७४ नम्बरको बसले उक्त मोटरसाइकललाई ठक्कर दिएको थियो। 

मोटरसाइकललाई ठक्कर दिएर अनियन्त्रित भएको यात्रुवाहक बसले सडकमा बिद्यार्थी चढाउँदै गरेको बर्दघाट नगरपालिका वडा नम्बर १२ भुताहको ग्लोवल एकेडेमीको लु १ ख ८७० नम्बरको बसमा ठक्कर दिँदा धेरै विद्यार्थी घाइते हुन पुगेको प्रहरीले जनाएको छ ।