काठमाडौं - रामेछाप नगरपालिका वडा नं ५ रामपुरको बसन्त सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा ६ वटा घरगोठ जलेर नष्ट भएका छन् ।

मङ्गलबार दिउँसो जंगलको बेलटार क्षेत्रबाट शुरु भएको आगो बस्तिमा बस्दा ४ वटा गोठ र २ वटा घर जलेर नष्ट भएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।

डढेलोले रामपुरका ठिङ्ग्रे, चुकिया र स्वाङग्रा गाउँका घरहरु भेटेको छ । अहिले अग्नि रेखा बनाएर आगो नियन्त्रणको प्रयास भइरहेको वडा अध्यक्ष हरिचन्द्र श्रेष्ठले बताए ।

डढेलोबाट जलेर ६ वटा बाख्रा र कुखुराहरू समेत मरेको वडा अध्यक्ष श्रेष्ठले बताए । मानवीय क्षति नभएपनि घर र गोठभित्र रहेका सबै खाद्यान्न तथा कपडा लगायतका सामानहरु जलेर नष्ट भएको जानकारी दिए ।