काठमाडौं - काठमाडौंको टोखाबाट २५ करोड भन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति यसअघि पनि सुन तस्करी मुछिएका व्यक्ति भएको खुलेको छ।
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-१, का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई यसअघि ७ किलो सुनसहित पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइएको छ । प्रहरीले नियन्त्रणमा लिएको ना ७ ख १६५२ नम्बरको ट्रक, बरामद रकम र लामालाई सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा अनुसन्धान अधिकृतले भने, ‘हामीले त्यहाँ धेरै गाडीहरू सर्च गर्यौँ। यो ट्रकलाई पनि रोक्यौँ। सुरुमा चालक अलि डराएको जस्तो देखियो। उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि हामीले नियन्त्रणमा लिएर छानबिन सुरु गर्दा पैसा भएको पाइयो।’
ट्रकबाट बरामद गरिएको अमेरिकी डलर र युरो रकम गरी आजको विनिमयदरअनुसार २५ करोड २८ लाख १२ हजार २२५ नेपाली रुपैयाँ रहेको जनाइएको छ। बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदैछ भन्ने सूचना पाएपछि प्रहरीले सवारी जाँचमा कडाइ गरेको थियो । अवैध मुद्रा कारोबारमा संलग्न व्यक्तिहरूको नेटवर्क रहेको आशंकामा प्रहरीले अनुसन्धानलाई थप अगाडि बढाएको छ।


0 comment