काठमाडौं - इजरायलले हेजबुल्लाहसँग २१ दिने युद्धविरामको अन्तराष्ट्रिय आह्वान अस्वीकार गरेको अल जजिराले जनाएको छ।

इजरायल र लेबनानबीच बढ्दो तनावको समयमा संयुक्त राज्य अमेरिकाले इजरायल–लेबनान सीमामा युद्धको वृद्धि रोक्न साथै लेबनान र गाजामा कूटनीतिलाई मौका दिन २१ दिनको युद्धविरामको आह्वान गरेको हो ।

यस योजनाका लागि अमेरिकी रक्षा सचिव लोयड जे अस्टिन, बेलायती रक्षा सचिव जोन हेली र अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्स आफ्नो समर्थन व्यक्त गर्नुभएको पेन्टागनले एक प्रेस विज्ञप्तीमा जनाएको छ ।

“लेबनान र उत्तरी इजरायलको अवस्था निकै चिन्ताजनक छ। इरान समर्थित आतङ्कवादी समूह लेबनानी हेजबुल्लाहले सन् २०२३ अक्टोबरमा हमासले गरेको आतङ्कवादी आक्रमणको भोलिपल्ट इजरायलमा रकेट प्रहार गर्न थालेको हो , अमेरिकी रक्षा सचिव लोयड जे अस्टिनले बताउनुभयो ।

तत्काल युद्धविरामको आह्वान गर्दै अस्टिनले भन्नुभयो “तत्काल २१ दिनको युद्धविरामले इजरायली र लेबनानी नागरिकलाई सुरक्षित रूपमा आफ्नो घर फर्कन अनुमति दिने कूटनीति प्रयासका लागि समय प्रदान गर्नेछ । यस समयलाई गाजामा युद्धविराम गर्न र सबै बन्धकलाई घर ल्याउने सम्झौता र यसको कार्यान्वयन गर्न पनि प्रयोग गर्न सकिन्छ ।”