काठमाडौं - क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुईवटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो ।

बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको कार्यकारी निर्देशक डा शिवजी पौडेलले जानकारी दिनुभयो ।

हाल अस्पतालमा दुईवटा फार्मेसी सञ्चालनमा छन् । ती फार्मेसीमा बिरामी चाप अत्यधिक भएपछि थप गर्न लागिएको उहाँको भनाइ छ । अस्पतालमा डेन्टल क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा सञ्चालनको काम अगाडि बढेको कार्यकारी निर्देशक पौडेलले बताउनुभयो ।

अस्पतालका उपनिर्देशक डा उमेश नेपालले अस्पतालमा थन्किएर रहेको सिटीस्क्यान मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र हाल इन्टरभेन्सन रेडियोलोजी सेवा समेत सुरु बताउनुभयो ।

महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम उपकरण सञ्चालनमा ल्याउन जडानको काम भइरहेको उहाँले जानकारी दिनुभयो ।बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ । अस्पतालले पेटस्क्यान र साइक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले सोही अनुसार आफूहरूले योजना बनाइरहेको बताउनुभयो ।