काठमाडौं - मधेसको मिथिला क्षेत्रमा जितिया पर्वको तयारी सुरु भएको छ। महोत्तरीसहितका मधेसको मिथिला क्षेत्रका सन्तानवती आमाहरू अहिले जितियाको तयारीमा जुटेका हुन् ।

पितृपक्ष (सोह्रश्राद्ध) को अष्टमी तिथिका दिन गरिने यो व्रत यही असोज ९ गते बुधबार परेको छ ।

असोज कृष्णपक्ष अर्थात् पितृपक्षको अष्टमी तिथिका दिन गरिने यो व्रत एक अहोरात्रको हुने चलन रहेको छ ।

अष्टमी तिथि टेकिएकै दिन गरिने यो व्रत भोलिपल्ट अष्टमी तिथि कटेर नवमी एक घडी कटाएर मात्रै समापन गरिन्छ । 

आउने मङ्गलबार साँझ ६ः०० बजे अष्टमी तिथि लाग्ने हुँदा सोही दिन सन्तानवती मिथिलानीले व्रत गर्ने निधो गरेका छन् ।

एक अहोरात्रको व्रत विधानले सोमबार मध्यरात अघि ओगटन (दर) खाएका मिथिलानीले बुधबार साँझ ५ः ४५ बजे नवमी तिथि लागेपछि व्रत समापन गर्नेछन्। 

यसपालिको व्रत अवधि झण्डै ४० घण्टाको हुने व्रतको तयारीमा रहेकी भङ्गाहा- ४ रामनगरकी रसिया चौधरी थारूले बताउनुभयो ।

सन्तानको सौर्य वृद्धि र सद्गुणको कामनाका साथ गरिने यो पर्वका बर्तालु आमाले आफ्ना सन्तान परोपकारी र आपतमा परेकाहरूलाई सघाउन सक्ने होऊन् भनेर इष्टदेवसँग पुकारा गर्ने चलन रहेको छ ।

असोज कृष्ण अष्टमीका दिन निराहार उपवास गरिने जितिया पर्वका लागि पितृपक्ष सुरु भएसँगै आमाहरूले आफ्ना सन्तान सुयोग्य होऊन् भन्दै कल्पना गर्छन्।

मिथिलाका सबै जाति समुदायमा पर्वको चलन भए पनि थारू बस्तीमा भने यो पर्वको विशेष चर्चा र तयारी देखिन्छ ।